टिच फर नेपालले वाकाथन


nepalटिच फर नेपालले वाकाथन आयोजना गर्ने

गाउँमा घन्टौँ हिँडेर विद्यालय आउनुपर्ने विद्यार्थीहरूको संघर्षको काठमान्डुका युवाहरूलाई सांकेतिक अनुभव दिन तथा तिनै बालबालिकाको लागि परोपकारीय दान संकलन गर्नका लागि टिच फर नेपालले यही पुस ११, २०७१ शनिवारका दिन ५ किलोमिटर हिँड्ने वाकाथनको आयोजना गर्दैछ । यस कार्यक्रममा राजधानीका ३० भन्दा बढी कलेज तथा अन्य संघसंस्थाका करिब १००० युवाहरूले भाग लिनेछन् । प्रत्येक सहभागीले न्यूनतम एक हजार रुपियाँ दान संकलन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ५ किलोमिटर लामो यो वाकाथन भृकुटीमन्डपको दक्षिण गेटबाट सुरु भई सहिदगेट, न्यूरोड, बसन्तपुर, क्षेत्रपाटी, ठमेल, केशरमहल, दरबारमार्ग, पुरानो बसपार्क हुँदै फेरि भुकुटीमन्डपमै आएर विभिन्न सांगितिक तथा सांस्कृतिक प्रस्तुतिको साथ समापन हुने कार्यक्रम छ । समापन कार्यक्रममा प्रसिद्ध नेपाली द एक्स ब्यान्डको प्रस्तुति हुनेछ । साथै विभिन्न गाउँमा कार्यरत् टिच फर नेपालका फेलोहरू, विद्यार्थीहरू तथा अन्य सहभागीले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् । टिच फर नेपालका कार्यकारी अधिकृत शिशिर खनालवाकाथन ग्रामिण भेगका बालबालिकाको विद्यालय अनुभवबारे बृहद रूपमा सार्वजनिक सचेतना जगाउने एक सशक्त माध्यम भएको बताउछन् । कार्यक्रमको तयारी तथा प्रचारप्रसारको लागि विभिन्न कलेजमा पुगेका वाकाथनका संयोजक प्रज्ज्वल खड्का काठमान्डुका धेरै युवायुवतीहरू ग्रामिण क्षेत्रका विद्यार्थीहरूले दिनहुँ विद्यालय जान गर्नुपर्ने संघर्षबारे अनभिज्ञ रहेको बताउँछन् । दुई वर्ष टिच फर नेपालको फेलोको रूपमा ललितपुरको गिम्दीमा पढाएका उनी भन्छन्, “हाम्रा विद्यार्थीले विद्यालय आउन दिनहुँ३(४ घन्टा हिँड्नुपर्ने यथार्थ धेरैलाई दन्त्यकथा जस्तो लाग्यो।” खड्का आफूले देखेको अनुभव यसरी पोख्छन्, “एउटा १० वर्षको बालक विहान ६ बजे उठ्छ । अँगेनोमा पाकेको ढिँडो खाएर ऊ स्कुलको यात्रा सुरु गर्छ । स्कुलको यात्राको क्रममा विभिन्न उकाली(ओराली, खोला र पहिरो गएको बाटो आउँछ । ऊ पसिनै पसिना भएर ९स्३० मा स्कुल पुग्छ । फेरि साँझ ४ बजे स्कुलबाट हिँडेर ऊ ७ बजेमात्र घर आइपुग्छ।” ललितपुर जिल्लामा नै विद्यार्थीहरूले भोगिरहेको यथार्थ सुनाउँदा धेरै जना भावुक भएको उनी बताउँछन् । खड्काका अनुसार वाकाथनमा संकलित हुने १० लाख रुपैयाँबाट ललितपुर, सिन्धुपाल्चोक र धनुषामा कार्यरत टिच फर नेपालका ५ जना फेलोलाई वर्षभरिको तलब पुग्नेछ । वाकाथन टिच फर नेपालको वार्षिक कार्यक्रमध्ये एक हो । गत वर्षबाट सुरु भएको यस कार्यक्रमको मूल उद्देश्य विद्यार्थीहरूले स्कुल जान गर्नुपरेको संघर्षलाई प्रतीकात्मक रूपमा राजधानीका युवायुवतीलाई अनुभूत गराएर सचेत बनाउँदै हरेक बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्ने अधिकारको लागि सबैलाई आह्वान र संकल्प गर्नु हो ।

Source : http://www.educationkhabar.com/

Photo Source : Reuters

Leave a comment

Your email address will not be published. Required fields are marked *